भ्रष्टाचार कानुनले नियन्त्रण गर्न सक्तैन
Nepali
05
Mar
2018 03:03
धेरैको भनाइ छ भ्रष्टाचार कानुनद्वारा नियन्त्रित हुन्छ । त्यसैले भ्रष्टाचारविरुद्धको कानुन तयार गर्नुपर्छ । तर यो भनाइ केही हदसम्म ठीक देखिए पनि वास्तवमा भ्रष्टाचारलाई कानुनले मात्र पूर्ण रूपमा नियन्त्रण गर्न सक्तैन । भ्रष्टाचारजन्य कार्य भएको छ भने कानुनले कानुनी कार्वाहीका लागि उजुरी लिने, अनुसन्धान गर्ने, तहकिकात गर्ने र कानुनबमोजिम सम्बन्धित अदालतमा मुद्दा चलाउने कार्यको तयारी गर्न सक्छ । त्यति मात्र होइन, भ्रष्टाचारजन्य कार्य भएको छ भने कुनै निश्चित अदालतबाट न्यायिक निर्णय गराएर दण्ड, जरिवाना, कैद वा मृत्युदण्ड दिने व्यवस्था गर्न सक्छ । यस्तो कार्यबाट भ्रष्टाचार गर्नु हुँदैन भन्नेसम्मको सन्देश व्यक्ति, समूह वा समाजमा जान्छ । तर यस्तो कार्वाही हुने कार्यले भ्रष्टाचार नियन्त्रण हुन सक्तैन । यस्तो कार्यबाट समाजमा सन्देश जारी गर्न मात्र सकिन्छ कि भ्रष्टाचार गर्ने व्यक्ति, समुदाय वा संस्थालाई दण्ड–जरिवाना गर्न सकिन्छ । यस्तो कानुनी कार्वाहीले समाजमा डर पैदा त गराउँछ, तर भ्रष्टाचारजन्य कार्यलाई निषेध गराउन सक्तैन ।
कानुनको मान्य सिद्धान्तका आधारमा समय–समयमा प्रादुर्भाव भएका ऐन, कानुन तथा कानुनी सिद्धान्तको विशेष व्याख्या हुन सक्छन् । किनभने विषय र समयले त्यसलाई कानुनको अपरिहार्य सिद्धान्तको घेराभित्र राखेर निरीक्षण पनि गर्न सक्छ । कानुन आफैँमा परिणाम होइन, कारणबाट उब्जिएको परिणाममुखी बाटो मात्र हो । कानुनको माध्यमद्वारा परिणाम प्रमाणित भएर आउन सक्छ ।
कानुनले गर्न नहुने कार्यलाई रोक्न सक्छ । त्यस्तो गर्न नहुने कार्य पनि कानुनमा नै लेखिएको हुनुपर्छ । यदि कानुनमा लेखिएको छैन भने मान्छेले त्यो कार्य गर्न सक्छ । मान्छे र मान्छेको समुदाय यति स्वतन्त्र हुन्छ कि उसलाई कानुनले बाँध्नै सक्तैन । जब कानुनले बाँध्न सक्तैन भने ऊ सधैँ कानुनको नियन्त्रणभन्दा बाहिर नै रहन्छ भन्ने बुझिन्छ ।
मान्छे एउटा प्राकृतिक प्राणी हो । स्वभावले नै ऊ स्वतन्त्र हुन्छ, स्वेच्छाचारी हुन्छ, विवेकी हुन्छ र विकासमुखी हुन्छ । त्यसैले मान्छे कानुनी नियन्त्रणभन्दा बाहिर नै बस्न चाहन्छ । मानवीय स्वभावलाई लक्षित गरी वातावरण सिर्जना गर्नुपर्छ भन्ने कुराको ज्ञान दिन यो भ्रष्टविरोधी शास्त्र समर्थ भएको छ ।
व्यक्तिबाट समाज र समाजबाट राष्ट्र बन्छ । व्यक्ति सम्मिलित कुनै पनि निकायलाई कानुनले नियन्त्रण गर्न सक्छ, तर व्यक्ति र व्यक्तिको चेतनालाई कानुनले नियन्त्रण गर्न सक्तैन ।
यसलाई तलको चित्रमा हेरौँ ः

माथिको चित्रले व्यक्तिलाई सर्वोपरि देखाउँछ । व्यक्तिकै संलग्नतामा नागरिक समाज खडा हुन्छ । नागरिक समाज राज्यव्यवस्थामा समाहित हुुन्छ । राज्यव्यवस्थाले तयार गर्ने कानुन र त्यो कानुनलाई कार्यान्वयन गर्ने न्यायिक निकायसमेत एक–अर्कामा जोडिएका हुन्छन् तर भ्रष्टाचारजन्य कार्यक्षेत्र भने सिधा व्यक्तिसँग सम्बन्धित भएको देखिन्छ । किनभने व्यक्ति नै भ्रष्टाचारको मूल स्रोत हो । व्यक्ति र नागरिक समाज नै भ्रष्टाचारजन्य कार्यका उत्पादक भएका हुँदा राज्यव्यवस्था र त्यसअन्तर्गतका कानुन र न्यायिक निकायले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देखिएको छ ।
यसै गरी कानुनको मान्य सिद्धान्तले व्यक्ति र व्यक्तिद्वारा निर्मित निकायलाई बेग्लाबेग्लै रूपमा परिभाषित गरेको हुन्छ । राज्यभित्र राज्य सञ्चालन गर्ने व्यक्तिसमेत व्यक्तिको अस्तित्व कायम गरी कार्य गर्ने विभिन्न निकायहरू हुन्छन् भन्ने सत्यतालाई कानुनले स्वीकार पनि गरेको छ । यसरी स्वीकार गर्दा भन्नुपर्छ कि प्राकृतिक व्यक्ति भनेको जीवित मानव हो र कानुनी व्यक्ति भनेको व्यक्तिद्वारा स्थपित सानो वा ठूलो निकाय हो । यसरी स्थापित भएको निकायमा राज्यको व्यवस्थापन गर्ने सरकार पनि पर्छ ।
कानुनले परिकल्पना गरेको छ ः
प्राकृतिक व्यक्ति | कानुनी व्यक्ति |
गर्न हुँदैन भनेबाहेक सबै कार्य गर्न छुट । | गर्न हुन्छ भन्नेबाहेक केही पनि गर्न छुट छैन । |
कानुनद्वारा गर्नु हुँदैन भनी निषेध गरेको बाहेक प्राकृतिक व्यक्तिलाई जे गर्न पनि छुट छ । कानुनद्वारा यो कार्य गर्नु भनेर किटान साथ भनेको भन्दा बढी गर्ने अधिकार कानुनी व्यक्तिलाई छैन । त्यसैले नागरिक समाजबाट निर्मित सानो वा ठूलो निकाय वा राज्य सञ्चालन गर्ने सरकार र त्यसका अङ्गहरू पूर्ण रूपमा कानुनको अधिनमा हुन्छन् । तर त्यसै राज्यभित्र बस्ने व्यक्ति भने कानुनले निषेध गरेको बाहेक जे पनि गर्न सक्ने सर्वाधिकार प्राप्त गरेको हुन्छ । त्यसैले भ्रष्टाचारको स्रोत नै व्यक्ति भएको हुँदा व्यक्तिलाई कानुनले अर्को निकायलाई जस्तो पूर्ण नियन्त्रित अवस्थामा राख्न सक्तैन । व्यक्तिलाई कानुनले नियन्त्रण गर्न सक्तैन भने भ्रष्टाचारजन्य कार्यलाई पनि कानुनले नियन्त्रण गर्न सक्तैन । व्यक्ति र व्यक्तिको आकाङ्क्षित कार्य अगाडि–अगाडि हुन्छ भने कानुन भने व्यक्तिको क्रियाकलापको पछि–पछि लागेको हुन्छ ।
प्राकृतिक व्यक्तिमा बुद्धि, विवेक र चेतना जस्ता विशिष्ट मानवीय गुणहरू पनि हुन्छन्, जसलाई कानुनले देख्न, बुझ्न र छुन सक्तैन । यही बुद्धि, विवेक र चेतना बोकेको व्यक्तिलाई भ्रष्टाचारविरुद्धको संस्कृति विकास गरी त्यसलाई देखाउन, सिकाउन र अलग गराउन सकिन्छ । किनभने व्यक्तिमा भ्रष्टाचारविरुद्धको संस्कृतिलाई ग्रहण गर्न सक्ने क्षमता पनि हुन्छ । विश्वको मानव–समुदायले सरलतापूर्वक ग्रहण गर्न र अभ्यास गर्न सक्ने भ्रष्टाचारविरुद्धको संस्कृतिको विकास गर्ने कार्यमा यो भ्रष्टविरोधी शास्त्र सफल हुनेछ ।