कालो धनको नियन्त्रण Nepali Home / Nepali / कालो धनको नियन्त्रण
05
Mar
2018 03:09
विश्वमा धन कमाउने होडबाजी सुरु भएपछि धनलाई पनि दुई वर्गमा विभाजित गरेर हेर्न थालियो । जुन धन सामान्य उद्योगधन्दा, व्यापार तथा सीप–बिक्रीबाट आर्जन हुन्छ, त्यो धनलाई वैध धन भनियो । त्यस्तै, असाधारण तथा अवैध रूपले कमाएको धनलाई अवैध अर्थात् कालो धन भन्न थालियो । यो धनको वर्गीकरण पहिले थिएन । किनभने त्यस बखत गरिने क्रियाकलापलाई वैध र अवैध भनी किटान गर्ने व्यवस्था थिएन । तर वर्तमान आधुनिक युगमा धनको वर्गीकरण गरी छुट्याएर हेर्न थालियो । सार्वजनिक रूपमा देख्न सकिने धनलाई वैध धन भनियो भने जुन धन नदेखिने रूपले रहेको छ, त्यसलाई कालो धन भन्न थालियो । वर्तमान विश्वको सबै भागमा कालो धनको बाहुल्य रहन थालेको हुँदा यसका बारेमा गहिरिएर विचार गर्नुपर्ने आवश्यकता देखियो ।
 
कालो धन अर्थात् अवैध धन त्यो धन हो, जो स्पष्ट रूपमा नदेखिने अवस्थामा विभिन्न किसिमका बजारमा कारोबारमा सम्मिलित भएको हुन्छ । बढी वा घटी जुनसुकै परिमाणमा कारोबार भए पनि सर्वसाधारण भने त्यस्तो कारोबारका बारेमा अनभिज्ञ हुने गरेका हुन्छन् । जसले वा जुन तहले कालो धनको कारोबार गरेको छ, त्यो व्यक्ति, समुदाय वा तहलाई मात्र कालो धनको कारोबार गरेको जानकारी हुने हुँदा यो कारोबारको प्रकृति खुला हुँदैन । यस्तो भूमिगत रूपमा हुने कारोबार अवैध वस्तु तथा सामग्रीमा विनिमय हुँदै पुनः धनमा परिवर्तित हुने गर्छ । यसरी कालो धन विनिमय हुँदै यो परिवर्तित हुने हुँदा यसको प्रत्येक परिवर्तनमा धनको परिमाण भने बढ्ने गरेकाले पनि यसको कारोबारमा तीव्रता आएको हुन्छ । 
 
सबैजसो मुलुकहरूमा कालो धनको कारोबारको प्रकृति एउटै किसिमको देखिन्छ । मुलुकको कानुनद्वारा प्रतिबन्धित वस्तु, सेवा र सामग्रीको खरिद–बिक्रीमा यस्तो धन प्रयोग भएको हुन्छ । धेरैजसो विकासोन्मुख मुलुकमा यस्तो अवैध धन राजनीतिक परिवर्तनका लागि खर्चिएको हुन्छ । कतिपय देशहरूमा आतङ्ककारी गतिविधिलाई तीव्रता दिन पनि कालो धनको प्रयोग हुने गर्छ । त्यसैले विकासोन्मुख मुलुकको राज्यसत्ता परिवर्तनमा कालो धनले विशेष भूमिका निर्वाह गरेको हुन्छ । यो सत्यलाई सबै सत्तारूढ व्यक्ति तथा समुदायले स्वीकारेका छन् । तर पनि जनताका सामु भने त्यस्तो कटु सत्यलाई खुलासा गर्न सक्तैनन् । 
 
कालो धनका दुई विशेषता हुन्छन् ः
(१) कालो धन लुकेर बस्छ,
(२) लुकेरै बसे पनि कार्य सम्पन्न गरेर छाड्छ ।
 
यस्तो विशेषता बोकेको कालो धनबाट सबैजसो मुलुकका सत्तासिन व्यक्ति र समुदायले लाभ लिइरहेका हुन्छन् । विश्वका सबैजसो राष्ट्रका सत्तासिन व्यक्तिहरूले सफेदपोसको पहिरनमा सजिएर आफ्नो अनुहार जति चम्काएका हुन्छन्, वास्तविक रूपमा तिनीहरूको अनुहार त्यति प्रस्ट तथा चम्किलो हुँदैन । यो सत्य जनतालाई भन्दा ती सत्तारूढ व्यक्ति तथा समुदायलाई बढी जानकारी हुन्छ । यो पनि कालो धनको विशेषता हो । 
 
उल्लिखित कथनअनुसार कालो धन लुकेर बस्छ र लुकेर बसे पनि आफ्नो क्रियाकलापलाई सम्पन्न गरी छोड्छ भन्ने बुझियो । कालो धनका अन्तरनिहित तàवलाई निम्न तीन वर्गमा विभाजित गरी हेर्न सकिन्छ ः 
(१) आतङ्ककारी गतिविधि,
(२) अवैध वस्तुको कारोबार,
(३) असामाजिक क्रियाकलाप ।
 
(१) आतङ्ककारी गतिविधि ः 
कालो धनले व्यक्ति वा समुदायमा आतङ्ककारी गतिविधि सञ्चालन गर्ने इच्छा जागरण गराउँछ । त्यस्तो आतङ्ककारी गतिविधिका प्रमुख दुई उद्देश्य रहेका हुन्छन् । ती हुन् ः
(क) धार्मिक एवं जातीय पहिचानको संरक्षण,
(ख) राज्यसत्ता कब्जा गर्ने लालसा ।
 
(क) धार्मिक एवं जातीय पहिचानको संरक्षणका लागि अर्को धर्म र जातिप्रति आक्रमण गर्ने क्रियाकलापले आतङ्कलाई जन्म दिन्छ । यसबाट दुवै पक्ष आतङ्कको भुमरीमा फस्छन् । तर उपलब्धि भने शून्य हुन्छ । किनभने कालो धनको प्रयोगद्वारा स्थापना भएको आतङ्ककारी गतिविधिको समय कालो धनको प्रयोगले निर्धारण गर्छ । त्यसैले कालो धनले उब्जाएको घटनाको स्थायीत्व हुन सक्तैन । कालो धनले केवल आतङ्क फैलाउँछ, दुःख दिन्छ र समाजलाई नोक्सान मात्र गर्छ । तर यस्तो गतिविधिले कहिलेकाहीँ क्षणिक सफलता पाएको देखिए पनि अन्त्यमा उपलब्धिहीन नै देखिएको छ ।
 
(ख) राज्यसत्ता कब्जा गर्ने लालसाका कारण मुलुकभित्र र बाहिर आतङ्ककारी गतिविधि बढेको हुन्छ । राज्यसत्ता कब्जा गर्ने महàवाकाङ्क्षी व्यक्ति वा समुदायले कालो धनबाट दुई किसिमका क्रियाकलाप अपनाई सत्ता कब्जा गर्ने योजना बनाएका हुन्छन् ः 
(१) प्रजातान्त्रिक बाटो, 
(२) अप्रजातान्त्रिक बाटो ।
 
(१) प्रजातान्त्रिक बाटोबाट राज्यसत्ता कब्जा गर्न जनताको सम्पर्कमा गएजस्तो देखाउने गरिन्छ । जनतालाई अनेक प्रलोभन दिएर निर्वाचन प्रयोजनका लागि कालो धन खर्चिएर जनप्रतिनिधि बन्न सकिन्छ । यो प्रक्रिया प्रजातान्त्रिक देखिए पनि स्वीकार्य व्यवस्था भने होइन । तर यो तरिका सबैजसो विकासोन्मुख मुलुकहरूमा प्रयोगमा आएको हुन्छ, जसलाई प्रजातन्त्रको सङ्ज्ञा दिइएको हुन्छ । यो पूर्ण अप्रजातान्त्रिक अभ्यास हो, तर विकासोन्मुख मुलुकहरूमा यसैलाई प्रजातन्त्र भनिन्छ । 
 
(२) अप्रजातान्त्रिक बाटो भनेको राज्यसत्ताविरुद्ध जाति, धर्म र समुदायको गुट तयार गरी राज्यविरुद्ध जनता भड्काउने र राज्यव्यवस्थालाई काम गर्न नदिने वातावरण तयार गर्ने हो । खास गरी विकासोन्मुख मुलुकमा यस्तो अप्रजातान्त्रिक क्रियाकलाप बढाएर राज्यव्यवस्था कमजोर बनाउने काम कालो धनको माध्यमद्वारा हुन्छ । कालो धनको प्रयोगका उद्देश्यहरू हुन्छन् मुलुकभित्र द्वन्द्व फैलाउनु एवं आतङ्क मच्चाउनु र त्यसको आडमा सत्ता कब्जा गरी पुनः कालो धन सङ्कलन गर्नु । यो चक्रीय प्रणालीले गर्दा कालो धनको सङ्कलन रोकिने सम्भावना देखिँदैन, तापनि यसको पहिचानपछि यसको आवश्यक व्यवस्थापन भने गर्न सकिन्छ भन्ने विश्वास लिनुपर्छ । 
 
(२) अवैध वस्तुको कारोबार ः 
कालो धनबाट अवैध वस्तुको कारोबार हुने गर्छ । किनभने कालो धन स्वयंमा अवैध हो । त्यस कारणले यसले अवैध वस्तुको कारोबार सुरु गर्छ । यसले निम्न अवैध वस्तुहरूको कारोबार गर्ने गरेको छ ः
(क) लागूपदार्थ,
(ख) प्रतिबन्धित वस्तु,
(ग) हिंसात्मक हतियार ।
 
(क) लागूपदार्थको उत्पादन गर्न र त्यस्तो उत्पादित पदार्थ अर्को देशमा ओसारपसार गरेर बिक्री गर्न कानुनले वर्जित गरेको छ । तर पनि विश्वका धेरै मुलुकमा अनेक प्रकारका लागूपदार्थ उत्पादन हुन्छन् । ती पदार्थहरू आवश्यकताअनुसार सबै मुलुकमा पुग्ने गरेका छन् । यसरी लागूपदार्थ उत्पादन गर्ने, त्यसलाई अर्को देशसम्म ओसारपसार गर्ने र बिक्री–वितरण गर्ने कामसमेत कालो धनको माध्यमद्वारा हुने गरेको छ । विश्वका सबै मुलुकहरूमा लुकेको धनको माध्यमद्वारा यस्तो अवैध लागूपदार्थ एक ठाउँबाट अर्को ठाउँमा लुकाएर नै पु¥याउने गरिएको हुन्छ । लागूपदार्थ लुकाएर कारोबार हुने गरे पनि प्रयोग भने खुला रूपमा हुने गरेको छ । यसरी व्यापारमा लगानी हुने कालो धन प्रस्ट रूपमा देखिएको हुन्छ ।
 
(ख) प्रतिबन्धित वस्तुहरूको ओसारपसार पनि कालो धनकै माध्यमद्वारा हुने गर्छ । कुनै देशले आफ्नो नीति तथा आवश्यकताअनुसार कुनै वस्तुमा प्रतिबन्ध लगाएको हुन्छ । त्यस्तो प्रतिबन्धित वस्तुको अर्को देशमा बढी माग भएको हुन्छ । त्यस्तो प्रतिबन्धित वस्तुको ओसारपसार र आपूर्ति गर्ने काम पनि कालो धनको माध्यमद्वारा हुने गर्छ ।
 
(ग) हिंसात्मक हतियार भनेर जीव–जीवात्मालाई समाप्त गर्ने भौतिक तथा रासायनिक हतियारलाई सम्झनुपर्छ । त्यस्तो हिंसात्मक हतियार उत्पादन गर्ने कार्यमा विकसित मुलुकहरू बढी संलग्न भएका हुन्छन् । गरिब एवं साना राष्ट्रहरूमा फैलिने आतङ्क तथा राष्ट्रहरूको सीमा अतिक्रमणमा प्रयोग हुने अनेक किसिमका हतियारहरूमा कालो धन लगानी भएको हुन्छ । हिंसात्मक हतियारबाट कालो धन आर्जित हुन्छ र कालो धनबाट हतियार उत्पादन हुन्छ । यस्ता हतियार ओसारपसार र खरिद–बिक्री गर्दा राष्ट्रिय सुरक्षाको सङ्ज्ञा दिँदै बढीभन्दा बढी कमिसनको लेनदेनबाट व्यक्ति वा समुदायमा कालो धन सङ्कलित हुन पुग्छ । 
 
(३) असामाजिक क्रियाकलाप ः 
समाजको अहित गर्ने कुनै पनि कार्यलाई असामाजिक क्रियाकलाप भनिन्छ । कालो धनको संरक्षणमा देशभित्र अनेक किसिमका असामाजिक कार्यहरू क्रियाशील भएका हुन्छन् । उदाहरणका रूपमा निम्न कार्यहरूलाई लिन सकिन्छ ः 
(१) जूवा (क्यासिनो र सट्टाबजार आदि),
(२) वेश्यावृत्ति,
(३) अस्वस्थ मनोरञ्जन केन्द्र ।
 
(१) जूवा भन्नाले बाजी थापेर खेल्ने वा गर्ने सबै किसिमको कारोबारलाई सम्झनुपर्छ । जस्तै धन बाजीमा लगाएर तासजूवा खेल्नु, क्यासिनो स्थापना गर्नु र क्यासिनोमा खेल्न जानु वा सट्टाबजारमा दाउ लगाउनु इत्यादि । यी सबै जूवाघरहरू कालो धन सङ्कलन गर्नेहरूले लगानी गरेका हुन्छन् । धेरै मुलुकहरूले कमिसनको आडमा साधारण कर असुल गर्ने नाउँमा जूवाघर सञ्चालनको स्वीकृति प्रदान गरी जूवाघर सञ्चालनमा ल्याएका हुन्छन्, जसको पृष्ठभूमिमा ती जूवाघरहरूले कालो धनको कारोबार गरिरहेका हुन्छन् । 
 
(२) वेश्यावृत्ति भन्नाले देहव्यापारलाई बुझाउँछ तापनि अमानवीय सबै किसिमका क्रियाकलापलाई पनि यसमा समावेश गरेर हेर्न सकिन्छ । कालो धनको सङ्कलनका लागि वेश्यावृत्तिको विकास गरिन्छ । त्यस्तै, कालो धनबाट मात्र वेश्यावृत्ति विकसित हुन्छ । वेश्यावृत्तिको थालनी, प्रवद्र्धन र उपलब्धिको मूल स्रोत नै कालो धन हो । विश्वका प्रायः सबै मुलुकको समाजले वेश्यावृत्तिलाई स्वीकार गरेका छन् । जबसम्म कालो धन नियन्त्रित हुँदैन, तबसम्म मानव–समाजबाट वेश्यावृत्तिको समाप्ति हुन सक्तैन ।
 
(३) अस्वस्थ मनोरञ्जन केन्द्र भन्नाले मनोरञ्जन दिने नाउँमा खुलेका अस्वस्थ मनोरञ्जनका केन्द्र भन्ने बुझिन्छ । जस्तै रिक्रेसन सेन्टर, सोसल क्लब्स र युवा मनोविज्ञानलाई मोहित गर्ने केन्द्र आदिलाई लिन सकिन्छ । तर यस्ता होटल, क्लब र मनोरञ्जन केन्द्रहरूमा मानवीय संवेदनशीलतालाई नगदमा परिवर्तन गरेर उपचार गर्ने प्रयत्न गरिन्छ । अन्ततः व्यक्ति र समुदायलाई नोक्सानी हुन्छ । त्यस्ता केन्द्रहरूलाई भने फाइदा पुग्ने हुन्छ । त्यसैले यस्ता केन्द्रहरूमा कालो धनको प्रयोग भएको हुन्छ ।
 
यी माथिका अध्ययनलाई चित्रका माध्यमद्वारा हेरौँ ः 
 
कालो धनद्वारा उत्पन्न भएका तàवहरू
माथिको चित्रमा कालो धनले निर्माण गर्ने असामाजिक तàवहरूलाई स्पष्ट रूपमा देखाउने प्रयत्न गरिएको छ । सबै तàवहरू एक–आपसमा असम्बन्धित देखिए पनि एउटै मूलबाट विकसित भएको देखिन्छ । यसबाट नियन्त्रणविधिको निर्माणमा सहजता कायम हुन सक्ने देखिन आएको छ । माथिको चित्रले कालो धनको समाप्ति नै सबै असामाजिक तàवहरूको समाप्ति हो भन्ने प्रमाणित हुन्छ । 
 
नियन्त्रणविधि ः 
नियन्त्रणविधि भन्नाले कालो धनबाट उत्पन्न हुने र हुन सक्ने सबै किसिमका क्रियाकलापको अन्त्य गराउन निर्मित विधिलाई सम्झनुपर्छ । अर्को शब्दमा कालो धनबाट उत्पन्न भएका सबै किसिमका असामाजिक तàवहरूलाई पूर्ण रूपमा अङ्कुश लगाउन सक्ने अवस्थाको सृजना भएको हुनपर्छ । यसका लागि यी तीन अनिवार्य तàव आवश्यक पर्छन् ः
(क) कडाभन्दा कडा ऐनको व्यवस्था,
(ख) नागरिक चेतना,
(ग) राजनीतिक नेताहरूमा इच्छाशक्ति । 
 
(क) कडाभन्दा कडा ऐनको व्यवस्था भन्नाले आवश्यकताभन्दा बढी धन सङ्कलन गर्ने व्यक्ति वा समुदायलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्न सक्ने कानुनी व्यवस्थालाई सम्झनुपर्छ । समाजमा कानुनको पूर्ण पालना गर्नुपर्ने अवस्था सृजना गर्न सक्नुपर्छ । सम्पत्ति शुद्धीकरण व्यवस्थापन विधिअन्तर्गत सम्पत्तिलाई धोई–पखाली शुद्धीकरण गर्ने मात्र होइन कि अपराधीकै कोटीमा ल्याई कार्वाही गरी भएको सम्पूर्ण सम्पत्तिलाई राष्ट्रियकरण गरेर अपराधीलाई आजीवन कारावासको सजाय हुन सक्ने व्यवस्था हुनुपर्छ । कालो धनको नियन्त्रणका लागि यो नै प्रमुख आधार हो । 
 
(ख) नागरिक चेतना भन्नाले देशको प्रत्येक नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति पूर्ण जागरुक भएको अवस्था हो भन्ने बुझ्नुपर्छ । यो अवस्था सृजना गर्न नागरिकहरू पूर्ण शिक्षित हुनुपर्ने हुन्छ । साथै, प्रत्येक नागरिकहरूको जीवनयापनका लागि आवश्यकताको परिपूर्ति सहज रूपमा भएको हुनुपर्छ । शिक्षित एवं आवश्यकता परिपूर्ति गर्न सक्ने नागरिकहरूलाई सक्षम नागरिक सम्झनुपर्छ । विकसित देशमा यस्ता नागरिक करिब असी प्रतिशत हुन्छन् भने विकासोन्मुख देशमा ठीक त्यसको उल्टो करिब बीस प्रतिशत मात्र हुन्छन् । त्यसैले विकासोन्मुख मुलुकमा नागरिक चेतनाको अभिवृद्धि गर्न कठिन भएको देखिन्छ । अधिकतम नागरिक शिक्षित भएमा मात्र नागरिकको चेतनाको स्तर कायम गर्न सकिन्छ । त्यसैले राज्यको मूल दायित्व हो चेतनशील नागरिक तयार गर्नु । 
 
(ग) राजनीतिक नेताहरूमा कालो धन समाप्त गर्छु भन्ने इच्छाशक्ति विकसित नभएसम्म कालो धनको चलखेल नरोकिने निश्चित छ । विकासोन्मुख मुलुकमा राजनीतिक नेता तथा कार्यकर्तामा कालो धनकै माध्यमद्वारा सत्ता कब्जा गर्ने प्रवृत्ति रहेको हुँदा यसको नियन्त्रणमा कठिनाइ देखिएको छ । तर पनि यसको नियन्त्रणविधि निर्माण गर्नु आवश्यक छ । त्यो हो राजनीतिक नेताहरूमा कालो धन नियन्त्रणमा राख्न सक्छु भन्ने इच्छाशक्तिको वृद्धि । 
 
नियन्त्रण गर्ने विधिलाई चित्रमा हेरौँ ः
 
माथि प्रस्तुत गरिएको त्रिकोणको क, ख र ग लाई कालो धनको शक्तिले आयतन बढाउने कार्य गरेको हुन्छ भने कडा ऐन, नागरिक चेतना र राजनीतिक नेताको इच्छाशक्तिले दबाब सृजना गरेको खण्डमा त्यसलाई खुम्च्याउने कार्य गरेको हुन्छ । क, ख र ग पूर्ण रूपले क्रियाशील भएमा त्रिकोणमा दबाब सुरु हुन्छ र एक–आपसमा जुट्न पुग्छ । यसरी त्रिकोण विन्दुमा परिवर्तित हुन्छ अर्थात् कालो धन शून्यमा परिवर्तित हुन पुग्छ ।
 
तसर्थ कालो धनको नियन्त्रित अवस्था सृजना गर्न कडाभन्दा कडा कानुनको व्यवस्था गर्नुपर्ने, नागरिक सचेतना कार्यक्रम पूर्ण रूपले लागू गर्नुपर्ने र राजनीतिक नेता तथा कार्यकर्तामा प्रबल इच्छा शक्ति प्रादुर्भाव भएको अवस्था सृजना हुनुपर्ने प्रस्ट देखिन्छ । 
 
कालो धन अर्थात् अवैध धन नियन्त्रण हुन सक्ने पूर्ण सम्भावना भएर पनि विकसित मुलुकहरूमा समेत यसलाई नियन्त्रण गर्न सकेको देखिँदैन । किनभने विकसित देशहरूमा पनि कालो धन सञ्चालन गर्ने समूह र निकाय नै राजनीतिक क्षेत्रमा प्रभावशाली रूपमा स्थापित भएका देखिन्छन् । ती देशहरूमा कालो धनलाई नियन्त्रण गर्ने कानुन छ, तर नियन्त्रण गर्न सक्ने विधि असमर्थ देखिएका छन् । त्यस्तै, विकासोन्मुख मुलुकमा त कालो धन नियन्त्रण गर्ने कानुन नै छैन । केही देशहरूमा भए पनि निष्क्रियप्रायः रहेका छन् । त्यसैले कानुले मात्र अवैध धनको नियन्त्रण हुन सक्तैन भन्ने स्पष्ट छ । 
 
यी माथिका त्रिकोणमा उल्लेख भएका तीन अङ्गहरू पूर्ण रूपमा क्रियाशील भइदिए सरल तरिकाले अवैध धनको चलखेल नियन्त्रित हुन्छ । यदि तीन अङ्गमा एक अङ्ग मात्र कमजोर भएमा पनि कालो धन नियन्त्रण गर्ने लक्ष्य प्राप्त गर्न सकिँदैन । तर पनि जुन अङ्ग कमजोर छ, त्यो अङ्गलाई सबल बनाई नियन्त्रणविधिलाई अगाडि बढाउन सकिन्छ । त्यसका लागि सर्वप्रथम राजनीतिक नेता तथा कार्यकर्तामा अवैध धन नियन्त्रण गर्नुपर्छ भन्ने प्रबल इच्छाशक्तिको प्रादुर्भाव गराउनु आवश्यक देखिन्छ ।
© 2018 Anticorruption Movement Nepal , All right reserved
Powred By Purna Dangal